काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन् । बुधबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेकाले त्यसको अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् ।



‘‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल, सरकार र प्रदेश समिति तथा स्थानीय तहका बीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ। यो अवस्थाको अन्त्य हुनुपर्छ,’’ महरले भने । वडा सदस्यदेखि वडाध्यक्ष, पालिकाका प्रमुख, प्रदेशदेखि सङ्घीय सांसदले प्रत्येक तीन तीन महिनामा जनताका पक्षमा गरेको कार्य र कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउनुपर्ने महरले बताए ।



जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणा पत्रप्रति उत्तरदायी बनाउन तथा मूल्याङ्कन गर्ने एक संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ । सभापति, महामन्त्री, उपसभापतिलगायत पदाधिकारीको धारणा फरक भएका कारण कांग्रेसप्रति जनताको भ्रम सिर्जना भएको प्रसङ्ग उल्लेख गर्नुहुँदै उनले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको उनले बताए।
यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे ।
कांग्रेस जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नैपर्ने अवस्थामा रहेको नेता महरले औंल्याउनुभएको छ। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्व राजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए ।
कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नैपर्ने अवस्थामा रहेको नेता महरले बताए । राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्व राजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

