धनगढी- छेङ्गालाल डङ्गौराको जवानीले उहाँको साथ छोडिसकेको छ । ज्येष्ठ नागरिक डङ्गौराले डुङ्गा तर्नुपर्ने बाध्यता भने अझै हटेको छैन । ‘वचनपनदेखि डुङ्गाबाट ओहोदोहोर गर्दै अहिलेको अवस्थासम्म पुगिसक्यौँ,’ उनले भने, ‘कपाल फुलिसक्दा पनि डुङ्गा तर्नुपर्ने बाध्यताको हटेको छैन ।’



यो पीडा ज्येष्ठ नागरिक डङ्गौराको मात्रै नभई सिङ्गो मोहनपुर गाउँको समस्या हो । नदीमा पुल नहुँदा कैलारी गाउँपालिका–३, मोहना नदी पारिको मोहनपुर गाउँका स्थानीय वर्षौंदेखि डुङ्गाको भरमा वारपार गर्न बाध्य छन् ।


सरकारले आफूहरूको चित्कार नसुनेका कारण ज्यान जोखिममा राखेर डुङ्गामार्फत बर्खामा नदी ओहोरदोहोर गर्नुपरेको दुखेसो डङ्गौराको छ । ‘झोलुङ्गे पुल चाँडै बन्छ भन्ने त सुन्यौँ,’ उनले थपे, ‘तर, दुई वर्ष बित्यो एउटा पिल्लर मात्रै ठडिएको छ । पुल कहिले बन्ने हो, अत्तोपत्तो छैन ।’

पुलको अभावमा यहाँ स्थानीय करिब छ महिनासम्म डुङ्गामार्फत ओहोरदोहोर गर्छन् । हिउँदमा भने काठे पुल हाल्ने गरिएको छ । नदीमा बाढी आएमा आवतजावत नै ठप्प हुने गरेको स्थानीय विष्णु चौधरीले बताए ।
यहाँका १५÷२० जना विद्यार्थी दैनिक नदी पार गरेर विद्यालय आउने जाने गर्छन् । नदीमा बाढी आएमा भने विद्यार्थीको पठनपाठन छुट्ने गरेको उहाँ बताउनुहुन्छ । कैलाली तराईको सुगम जिल्लाको एक बस्ती पुलकै अभावका कारण दूरदराज बन्न पुगेको पीडा स्थानीय मोहनपुर वासीको छ ।
सो नदीमा पनि ठेकेदारमार्फत डुङ्गा सञ्चालन भइरहेको छ । विद्यालय जाने विद्यार्थीसहित मोहनपुर र भितरिया गाउँका स्थानीयले डुङ्गाबाट तरेबापत ठेकेदारलाई पैसा तिर्नु पर्दैन । ‘दुई गाउँका सबै स्थानीयको शुल्क लाग्दैन,’ डुङ्गा चालकसमेत रहनुभएका विष्णु चौधरीले भने, ‘अन्यको भने शुल्क लाग्ने गर्दछ ।’
मोहनपुर घाटमा डुङ्गा सञ्चालनका लागि ठेकेदारले तीन लाख १५ हजार रुपियाँमा एक वर्षका लागि ठेक्का पाएका छन् । नदीमा पानीको अवस्था हेरेर व्यक्तिबाट शुल्क लिइने गरेको छ । न्यूनतम् ३० देखि एक सय बढीसम्म शुल्क लिइने गरेको चौधरीले बताए ।
झोलुङ्गे पुल निर्माण हुन समय लाग्ने भएकाले केही वर्ष अझै पनि ओहोरदोहोरको माध्यम डुङ्गा नै रहने स्थानीय जनप्रतिनिधिको भनाइ छ । मोहनपुर गाउँ नै मोहना नदीको कटानको उच्च जोखिममा रहेको छ । गोरखापत्रबाट

