अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले एसईई परीक्षा अनलाइनको माध्यमबाट लिने, समय सारीणी सहित




अत्तरिया, ३१ जेठ- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अनलाइनको माध्यमबाट लिने भएको छ ।


विद्यालयले सोमबार एक सूचना जारी गर्दै आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गर्नको लागि अनलाई विधिबाट परीक्षा संचालन गर्न लागेको जनाएको हो ।


यस बर्ष कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा उपस्थित गराएर नहुने भएकाले विद्यार्थीको आन्तरिक मुल्याङ्कनलाई प्रभावकारी बनाउन अनलाईनको माध्यमबाट परीक्षा लिन लागेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए ।
जोशीले यसअघि एसईईका बिद्यार्थीको २ पटक आन्तरिक परीक्षा गरिसकेको भएपनि थप १ पटक अनलाईन परीक्षा लिएर नतिजा प्रकाशन गर्ने तयारी रहेको समेत बताए ।

‘हामीले यसअघि पनि कक्षा ८ र ९ को पनि अनलाईनको माध्यमबाट परीक्षा संचालन गरेका थियौ । दुवै परीक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ’ उनले भने, ‘आन्तरिक मुल्याङ्कनका नाममा हचुवाको भरमा नम्बर दिनु भन्दा हामीले एसईईका लागि पनि ४० नम्बरको अनलाइन परीक्षा संचालन गर्दै छौ ।’
राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको छ । त्यसपछि विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइ सक्नुपर्ने छ । असार अन्तिम सम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम समेत गर्ने बोर्डले जनाएको छ ।
बोर्डले विद्यार्थीको मूल्याङ्कनका लागि आन्तरिक मुल्याङ्कंनको कार्यविधि बनाएको छ । बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न समय सारिणीका साथै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षर सहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निणर्य समेत गरिएको हो ।
समय सारिणी :




