धनगढी- कैलालीको कैलारी गाउँपालिका– ७ बसन्ताका किसान सुन्दरप्रसाद चौधरीले पौने तीन बिघा खेतमध्ये डेढ बिघामा मात्र रोपाइँ गरेका छन् । बाँझै छाडेको बाँकी पनि खेत नै हो, धान फल्छ । तर, हरेक बर्खामा कटैनी खोलामा आउने बाढीले धानबाली बगाउनेरडुबानमा पार्ने भएकाले उनले आधा खेतमा मात्र रोपाइँ गरेका हुन् ।



कैलारी गाउँपालिका– ७ बसन्ताका किसान सुन्दरप्रसाद चौधरीले बाँझो राखेको खेत । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ६९ हजार चार सय हेक्टरमा बर्खे धानखेती हुन्छ ।


तर, त्यसमध्ये पाँच सय हेक्टर खेतको धानमा हरेक वर्ष बर्खामा आउने बाढीले क्षति गर्छ । ‘बाढी आए करिब पाँच सय हेक्टरमा ८० प्रतिशतसम्म क्षति हुन्छ,’ कृषि ज्ञान केन्द्र प्रमुख प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘त्यसमध्ये केही क्षेत्रमा किसानले रोपाइँ गर्छन्, केही बाँझै छोड्छन् ।’
‘खोलामा हरेक वर्ष आउने बाढीले १०–१२ कट्ठामा पटान (बालुवा भरिएको) छ,’ चौधरीले भने, ‘रोपेको डेढ बिघाको धान पनि भित्र्याउन पाइन्छ कि पाइँदैन, ठेगान छैन । बाढी नआए भित्र्याउन पाइएला, बढी बाढी आए धान नष्ट गरिदिन्छ, मिहिनेत र लगानी खेर जान्छ ।’ बाढीले नष्ट गरिदिएकाले अघिल्लो वर्षको बर्खे सिजनमा रोपेको धान चौधरीले भित्र्याउन पाएनन् । बर्सेनि बाढी लाग्ने भएकाले करिब डेढ बिघा जमिन बाँझो छोड्ने गरेको उनले बताए ।
बसन्ता गाउँकै जितेन्द्र रानाले पनि तीन बिघामध्ये आधा बिघा जमिन बाँझै छाडेका छन् । ‘खहरे घुराहा खोला उर्लेर आउँछ, अहिले बाँझो छाडेको खेतमा हिउँदमा गहुँ भने लगाउँछु,’ उनले भने । बाँकी खेतमा पनि रोपाइँ सकेदेखि नै बाढी आउला कि भन्ने चिन्ता लाग्न थालेको उनले बताए । ‘धानबाली कहिले भित्र्याउन पाइन्छ, कहिले पाइँदैन,’ जितेन्द्रले भने, ‘बाढीबाट जोगिएला कि भन्ने आसले लगाउन भने छोड्दैनौँ ।’
कैलालीको भजनी र टीकापुर नगरपालिका तथा कैलारी गाउँपालिका बर्खामा बाढीबाट अत्यधिक प्रभावित हुन्छन् । नदी, खोलामा उर्लेर बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै धानबालीमा ठूलो क्षति हुने गरेको छ । बाढीले नष्ट गर्ने भएकाले किसानहरू बर्खामा बाली भित्र्याउन नपाइला कि भन्ने चिन्तामा हुन्छन् । अत्यधिक बाढी लाग्ने ठाउँमा कतिपयले रोप्दैनन् ।

यो समस्या कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने भजनी र टीकापुर नगरपालिका क्षेत्रमा अझ बढी छ । भजनी– ३ कुसुमघाटका रमेश बोहराले दुई बिघामध्ये डेढ बिघा खेत बर्खामा बाँझै छोड्छन् । कान्द्रा नदीमा हरेक वर्ष आउने बाढीले धान नष्ट गर्न थालेपछि दुई वर्षयता आधा खेत बाँझै छाड्न थालेको उनले सुनाए ।
‘आधा बिघामा रोपाइँ गरे । त्यो पनि बाढीबाट जोगिँदैन होला,’ बोहराले भने, ‘रोपेको धान बाढीले नष्ट गरिदिन्छ, त्यसैले जमिन बाँझै छोड्छौँ । हिउँदमा गहुँ लगाउने र चामल किनेर खानुपर्ने बाध्यता छ ।’ यस क्षेत्रमा कान्द्रा नदीको बाढी र कटानले नदी खेतनजिक पुगेको छ भने नदीको सतह पनि माथि उठेकाले डुबान बढेको छ ।
भजनीकै लालबोझीका किसान सन्तराम चौधरीले ठूलो बाढी आउँदा धानबालीमा क्षति हुने गरेको बताए । बाढीले पटान गर्ने र धेरै दिनसम्म खेतमा पानी जमेर धान नष्ट हुने गरेको उनले बताए । ‘बाढी आउँदा बाली नष्ट गरिदिन्छ, मिहिनेत सबै खेर जान्छ,’ उनले भने, ‘नदी, खोलाहरूमा ठूलाठूला ड्याम र तटबन्ध बनाउन सकेको भए यो समस्या केही कम हुन्थ्यो ।’
भजनी नगरपालिकाका मेयर केवल चौधरीले बाढीबाट वडा नम्बर ३, ५ र ८ सबैभन्दा बढी प्रभावित हुने गरेको बताए । ‘बाढी आएको वर्ष धानबालीमा धेरै क्षति हुन्छ । डुबानले धेरै परिवार विस्थापित पनि हुन्छन्,’ नगर प्रमुख चौधरीले भने ।
नदी कटान र बाढी नियन्त्रणका लागि तटबन्धका ठूला योजना आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिकाबाट त्यो सम्भव नभएको बताए । केही ठाउँमा निर्माण गरिएका जैविक तटबन्धले कटान नियन्त्रणमा सहयोग पुगेको चौधरीले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ६९ हजार चार सय हेक्टरमा बर्खे धानखेती हुन्छ । तर, त्यसमध्ये पाँच सय हेक्टर खेतको धानमा हरेक वर्ष बर्खामा आउने बाढीले क्षति गर्छ । ‘बाढी आए करिब पाँच सय हेक्टरमा ८० प्रतिशतसम्म क्षति हुन्छ,’ कृषि ज्ञान केन्द्र प्रमुख प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘त्यसमध्ये केही क्षेत्रमा किसानले रोपाइँ गर्छन्, केही बाँझै छोड्छन् ।’
बाढी नआएको वर्ष भने त्यस्तो खेतमा उत्पादन राम्रो हुने गर्छ । बाढीले धान भित्र्याउन नपाएपछि भजनीका किसानले पछिल्लो समय चैतेधान पनि लगाउने गरेका छन् । तर, सिँचाइको अभावले बाढी प्रभावित सबै क्षेत्रमा चैतेधान लगाइँदैन । नयाँपत्रिकाबाट

