राना हत्या प्रकरण : अनुसन्धानका लागि १२ जना प्रहरी नियन्त्रणमा





अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।


मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटाइएको थियो । मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् ।



शिवचरण राना मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतिले मृत भेटिएका रानामाथि धारिलो हतियार प्रहार भएको पाइएपछि हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको छ । सोही क्रममा सोधपुछका लागि १२ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मालाखेति अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी गराए ।
उनले उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको बताए । उनीहरुको नाम भने खुलाइएको छैन । गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ । घटनास्थल मुचुल्का लगायतको काम सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



