रेशम चौधरीको मुद्दामा बहस सकिएन, भोलिकका लागि अर्को पेसी

काठमाण्डौ– कैलालीको टिकापुर घटनाका आरोपी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन्।

Navadurga sun

जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ। यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाई पाउनुपर्ने भन्दै बहस भएको थियो। प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र उनीहरुलाई सफाई दिनुपर्ने माग गरिएको थियो।

जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो।

सोमबार भने बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...