श्रीको जहाजमा ल्यान्डिङ गियर अड्किने समस्या धनगढीपछि भैरहवामा

काठमाडौँ- जहाजको ल्यान्डिङ गियर (पाङ्ग्रा) अड्किने समस्या धनगढीपछि भैरहवामा पनि दोहोरिएपछि नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सको एउटा विमान र उक्त विमानको मर्मतमा संलग्न इन्जिनियरलाई ‘ग्राउन्डेड’ गरिदिएको छ ।

भैरहवामा सोमबार जहाजको अगाडिको नोज ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या शनिबार धनगढीबाट काठमाडौं उड्नुअघि पनि देखिएको जनाउँदै श्रीको अल्फा नोभेम्बर इको जहाजलाई भैरहवामा र ल्यान्डिङ गियर मर्मतमा संलग्न इन्जिनियरलाई काठमाडौंमा ग्राउन्डेड गरिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

Navadurga sun
Godawari sandesh

भैरहवामा ग्राउन्डेड गरिएको बमबार्डियर ड्यास क्यू-४०० विमानको मर्मत भइरहेको छ । ‘नोज ल्यान्डिङ गियरको समस्या नभई त्यसको ढक्कनमा समस्या देखियो,’ भैरहवा विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने, ‘प्राविधिकहरू यो जहाज उत्पादकसँगै परामर्श गर्दै मर्मतमा लागिरहेका छन् ।’

Dadeldhura hospital

महाप्रबन्धक पाण्डेका अनुसार प्राविधिकहरूले जहाजको अगाडि रहेको नोज ल्यान्डिङ गियरमा समस्या नरहेको तर, जहाज उडिसकेपछि गियर जहाजको भित्री संरचनामा पसेपछि ढक्कन स्वतः खुल्ने गरेको समस्या देखिएको बताएका छन् । यो समस्या समाधान गर्न श्रीले विदेशबाट स्पेयर पार्ट्स मगाइसकेको भन्दै ल्यान्डिङ गियरसँग सम्बन्धित सम्पूर्ण पार्टपुर्जा फेर्ने जानकारी भैरहवा विमानस्थललाई दिएको छ ।

७६ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाजको ल्यान्डिङ गियर (पांग्रा) अड्किँदा सोमबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झन्डै १ घन्टा अवरुद्ध भएको थियो । उक्त विमानबाट काठमाडौं आउन लागेका यात्रुलाई तीन घण्टापछि श्रीको अर्को जहाजले काठमाडौं ल्याएको थियो ।

यसअघि शनिबार काठमाडौंबाट यात्रु लिएर गएको श्रीको नाइनएन-अल्फा नोभेम्बर इको जहाजमा यस्तै समस्या देखिएको थियो । सहप्रवक्ता भुलका अनुसार त्यसदिन यस जहाजको अगाडिको नोज ल्याण्डिङ्ग गियरमा समस्या देखिएको थियो । त्यस दिन श्रीले धनगढीमा पनि अर्को जहाज पठाएर समस्या देखिएको विमानलाई मर्मत गरेर मात्रै काठमाडौं ल्याइएको थियो ।

सहप्रवक्ता भुलका अनुसार श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन् । तीमध्ये हाल ३ वटा सीआरजे र एउटा ड्यास-८ विमान उडानयोग्य छैनन् । उसले दैनिक उडानमा तीनवटा ड्यास-८ र एउटा सीआरजे गरी चारवटा विमान उडाउँदै आएकोमा सोमबारदेखि एउटा जहाज फेरि ग्राउन्डेड गरिएसँगै अब यो कम्पनीसँग तीनवटा मात्रै जहाज उडानमा रहनेछन् । भैरहवा-काठमाडौं हाल दैनिक दुईतर्फी २२ वटा उडान हुन्छन् । यिनमा श्रीले चारवटा उडान तालिका राखेको छ ।

 

Loading...