बाघ लुक्ने करिब दुई किलोमिटर क्षेत्रको झाडी फाँड्दै वडा कार्यालय

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाँड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका-८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाँडिएको हो ।

बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी-८ का अध्यक्ष बिसराम रानाले जानकारी दिए । ‘झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ’, उनले भने, ‘झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।’

Navadurga sun
Godawari sandesh

झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । ‘झाडी फडान भएपछि बाघ लुक्न नसक्ने विश्वासले स्थानीयको त्रास कम हुनसक्छ’, अध्यक्ष रानाले भने, ‘स्थानीयको मागअनुसार झाडी फँडानी गरिरहेका हौँ।’

Dadeldhura hospital

त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवतजावत निकै कम भएको उनले बताए । मानिसमा आक्रमण गर्ने बाघको जोडी सो क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घनाजङ्गल छैन ।

यही वैशाख ८ गते घाँस काट्न गएकी बेलौरी-८ की गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । महिलालाई आक्रमणपछि बाघ खप्टी नालाको झाडीमा लुकेको थियो । घटनापछि स्थानीय त्रसित बनेका छन् । ‘पचुईंपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्’, स्थानीय महेश विष्टले भने, ‘घटनापछि स्थानीयमा डर छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ ।’

उनका अनुसार बाघको आक्रमणपछि त्रसित स्थानीयको दैनिकी नै प्रभावित भएको छ । ‘घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि सकेका छैनन्’, उनले भने ।

पचुईंमा महिलाको ज्यान लिने नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखानामा राखिएको छ । बाघको निगरानीका लागि बेलौरी-८ पचुईं क्षेत्रमा छवटा स्वचालित क्यामेरा जडान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ‘ट्र्याकिङ’का लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए । ‘बाघले मान्छे मारेपछि स्थानीय त्रसित छन्, फेरि बाघको हल्ला छ’, उनले भने, ‘त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।’ बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गर्ने गरिरहेका छन् ।

Loading...