

बझाङ- बझाङको बुंगल नगरपालिकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ ।



किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि नगरपालिकाले स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन लागेको हो । रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताए ।


यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३२ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याएको र चैत्र ७ गते बोल पत्रसमेत आह्वान गरी सकेको नगर प्रमुख धामीले बताए । बोलपत्र आह्वान गरेपछि परेका आवेदनबाट छनोट भएका कम्पनीहरूले स्यानिटरी प्याड खरिद गरी नगरपालिकामा बुझाएपछि नगरपालिकाको शिक्षा शाखाबाट सबै विद्यालयहरूलाइ आवस्यकता अनुसार वितरण गरिने नगर प्रमुख धामीले बताए ।

