कुकुरमा देखियो ‘पार्वो भाइरस’ संक्रमण

काठमाडौं- चितवनमा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको संक्रमण देखिएको हो।

केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ। पार्वोको संक्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए।

सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुर मर्ने गर्छ। कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता संक्रमण नहुने न्यौपानेले बताए।

अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले बताए। कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ।

 

Loading...