काठमाडौँ- चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ। चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट बोतल निकालिदिएका छन्।


रौतहटको गुजरा नगरपालिका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो। पुरानो मेडिकल कलेजका डा। नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको बोलत निकालिदिएका हुन्।


के हो घटना ?

मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर त्यसले ठीक भएन। बोतल ठूलो भएकाले घाँटीबाट नभई मलद्वारबाट छिराइएको पाइएको चिकित्सकले बताएका छन्।
मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो। अस्पतालले तत्कालै पेटको एक्सरे गरायो। रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे। र, उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे।
पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो।
करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेले जानकारी दिए। ‘शल्यक्रिया भएको डेढरदुई घण्टापछि बिरामी होसमा आइसकेका छन्’, डा. बेलबासेले भने, ‘उनी अहिले कुराकानी गर्न सक्छन्।’
बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र इन्फेक्सन फैलिसकेको उनले बताए। ‘शल्यक्रिया गरेर हेर्दा बोतल माथि ठूलो आन्द्रामा फसेको रहेछ। प्वाल बनाएर पेटभित्र निस्किसकेको थियो’, उनले भने।