

धनगढी- बझाङमा निजी क्षेत्रको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ३८।४६ मेगावाट र तल्लो कालंगागाड आयोजनाको १५।३३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिममा झन्डै दोब्बर विद्युत् उत्पादन हुने भएको छ । दुई वर्षअघिसम्म सुदूरपश्चिममा ४६ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो भने साना आयोजनासहित ५१ मेगावाट उत्पादन हुँदै आएको छ । अब कालंगागाडका दुई आयोजना जोडिएपछि १ सय ५ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो ।


यसमा बझाङ रंगुनगाड जलविद्युत्बाट १ मेगावाट, ज्युलिगाड जलविद्युत् आयोजनाबाट ३.५ मेगावाटलगायत गाउँका लघु विद्युत् योजनासमेत जोडिएका छन् । यसअघिका चमेलिया, अपि हाइड्रोसमेत पर्छन् । आगामी चैतमा कालंगागाड तेस्रो जलविद्युत् आयोजनाले १० मेगावाट विद्युत् उत्पादन थाल्ने आयोजना कार्यालयले जानकारी दिएको छ ।


आयोजनाका निर्देशक वीरेन्द्र मल्लका अनुसार निर्माण सम्पन्न भइसकेको छ । केही दिनमा परीक्षण सुरु गरिनेछ । ‘कालंगा हाइड्रो लिमिटेडले तीन वर्षअघि ६४।४९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो,’ निर्देशक मल्लले भने, ‘त्यसमध्ये ५४ मेगावाट उत्पादन भइरहेको र १० मेगावाट अन्तिम चरणमा पुगेको छ ।’

यस्तै, दार्चुलामा निर्माणाधीन रहेको ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । ‘आगामी वैशाखभित्रै व्यापारिक उत्पादनको लक्ष्यसहित काम भइरहेको छ,’ आयोजनाका सञ्चालक सञ्जीव न्यौपानेले भने, ‘बाँधस्थलको अन्तिम सिभिल कार्य चलिरहेको छ ।’ दार्चुलामा निजी क्षेत्रको अपि हाइड्रोले यसअघि १६ मेगावाटका दुईवटा आयोजनावाट विद्युत् उत्पादन गरिरहेको छ । नौगाड जलविद्युत् आयोजना र माथिल्लो नौगाड आयोजनाबाट उत्पादन भइरहेको १६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । १२ मेगावाट क्षमताको मकरीगाड विद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
विद्युत् प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट विद्युत् उत्पादन हुने गरी थप ९ वटा विद्युत् आयोजना निर्माणाधीन छन् । ५४ मेगावाटका ६ वटा आयोजनाको विद्युत् खरिद सम्झौतासमेत भइसकेको छ । ३ हजार ६ सय १४ मेगावाटका २० वटा विद्युत् आयोजनाको अध्ययन भइरहेको छ । १०६ मेगावाट क्षमताका ४ वटा आयोजनाको अध्ययन चरणमा छ ।
प्राधिकरणका अनुसार सरकारले ९४ मेगावाटका १२ आयोजना बास्केटमा राखेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको तथ्यांकअनुसार सुदूरपश्चिम देशभरिमै सबैभन्दा बढी विद्युत् उत्पादन क्षमता भएको प्रदेश हो । सुदूरपश्चिममा १८ हजार १ सय ४९ मेगावाट विद्युत् उत्पादन क्षमता छ । पछिल्लो समय सुदूरपश्चिमको कैलालीमा कापडीगाड ३३ मेगावाट, दार्चुलामा मकरीगाढ १० मेगावाट, पानीगाड १० मेगावाट, बझाङकै नवगाड र मथिल्लो नवगाड गरी ९ मेगावाट निर्माणाधीन छन ।
विद्युत् उत्पादनमा सरकारी लगानी न्यून छ । पछिल्लो समय निजी क्षेत्रबाट विद्युत् उत्पादनमा लगानी हुन थालेपछि सुदूरपश्चिममा उत्पादन वृद्धि हुन थालेको हो । ‘निजी क्षेत्रले बेहोर्नुपरेका कानुनी समस्या, विद्युत् प्रसारण लाइन गुणस्तरहीन हुनु र सरकार कानुन बनाउन उदासीन देखिएकाले अपेक्षित रूपमा लगानी आउन सकेको छैन,’ कालंगा हाइड्रोका निर्देशक वीरेन्द्र मल्ल भन्छन्, ‘प्रदेश सरकारले कानुन निर्माण गरी विद्युत् उत्पादनका क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु आवश्यक छ ।’
देशभरिमा विद्युत् उत्पादन क्षमताको झन्डै २२ प्रतिशत क्षमता भएको सुदूरपश्चिमका ठूला आयोजनाहरू बन्न नसके पनि सानो स्तरमा पनि धेरै विद्युत् उत्पादन गर्न सकिने मल्लले बताए । उनले भने, ‘कर्णाली, पञ्चेश्वर, पश्चिम सेती, बूढीगंगा जस्ता ठूला आयोजना पर्खेर बस्नुभन्दा अध्ययनका क्रममा रहेका साना विद्युत् आयोजनालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम सुरु गर्नुपर्छ ।’ बझाङदेखि डडेल्धुरासम्मको प्रसारण लाइन पनि गुणस्तरीय बन्न नसकेका कारण निजी क्षेत्रबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा ल्याउनसमेत समस्या भइरहेको मल्लले बताए । कान्तिपुरबाट

