

बझाङ- महिना दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा बुंगल नगरपालिकाको नियमित कामकाज प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण सेवाग्राहीलाई समस्या भएको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्दै आएका शिक्षा अधिकृत देवराज जोशीले उक्त पदमा काम गर्न नसक्ने भन्दै राजीनामा दिएपछि नगरपालिकामा दैनिक प्रशासन सञ्चालनमा समस्या भएको हो ।


जोशीले गत कात्तिकमा नै राजीनामा दिएका थिए । ‘काम गर्दा अनावश्यक दबाब आउन थाल्यो,’ जोशीले भने, ‘त्यसैले म सक्दिनँ भनेर कात्तिक राजीनामा दिएको थिए । अर्को व्यक्ति नआउन्जेलसम्म काम गरिदिनुहोस् भनेको भएर माघसम्म काम गरें । नसक्ने भएपछि छोडेको हुँ ।’



स्थानीय भएका कारण पनि आफूलाई काम गर्दा अनावश्यक दबाब आउने गरेकोले छोड्नुपरेको उनले बताए । नगर कार्यपालिकाले रिक्त रहेको उक्त पदमा प्रशासन शाखामा कार्यरत ध्रुवराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरेपछि आफूले काम गर्न छोडिदिएको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको दैनिक प्रशासन सञ्चालन गर्न समस्या भएको नगर प्रमुख जयबहादुर धामीले बताए । प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका योजनालगायतको रकम भुक्तानी दिनका लागि समस्या भएको, नगरपालिकाले गर्ने निर्णय र टेन्डर प्रक्रिया तथा दैनिक कामकाजमा समेत समस्या भएको उनले बताए ।
नगरकार्यपालिकाले निर्णय गरेका व्यक्ति ध्रुवराज जोशीलाई संघीय मन्त्रालयले सहमति नदिएपछि आफू काठमाडौंमै प्रशासकीय अधिकृतको खोजीमा लागेको धामीको भनाइ छ । उनले मन्त्रालयले उपसचिवस्तरको मान्छे पठाउनुपर्ने वा नगरपालिकाले निर्णय गरेका जोशीकै नाममा सहमति दिनुपर्नेमा त्यसो नगरेको बताए ।
यता नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएको भन्दै विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीले नगरप्रमुख जयबहादुर धामी र उपप्रमुख धनबहादुर बोहराको कार्यकक्षमा आइतबारदेखि ताला लगाएको छ । नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको र दलगत स्वार्थ राखेर अनावश्यक दबाब दिंँदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको नेकपाका बुंगल नगरपालिका इन्चार्ज बटमले बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले कर्मचारीविहीन बनाएर जनतालाई सास्ती दिने काम नर्गन नगरपालिकालाई चेतावनीसमेत दिएका छन् ।

