किसानले पाएनन् मल





धनगढी, १० जेठ- कोरोना सङ्क्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि कैलालीका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् । किसान भोजबहादुर चौधरीले निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकीदा समेत मल नपाएको गुनासो गरे ।


गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित बनेका छन् । जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गर्छ ।



