

धनगढी- कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसले निर्वाचन आचारसंहिता विपरीत १५ जना शिक्षकलाई दिइएको करार नियुक्ती खारेजी, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका माग राखेर प्रमुखको कार्यकक्षमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।



कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले क्याम्पसमा देखिएका विभिन्न विसंगतीका विरुद्धमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । भट्टकाअनुसार क्याम्पसमा शिक्षक भर्नादेखि पठनपाठन लगायतमा देखिएका समस्या सामाधानको माग गर्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।


विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा नगरेमा चरणबद्ध आन्दोलनको चेतावनी समेत क्याम्पस प्रशासनलाई दिएको छ । क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी लगायतका संगठनले तालाबन्दी गरेका हुन् ।
कैलाली बहुमुखी क्याम्पसले २०६९ सालदेखि क्याम्पसमा अस्थायी रुपमा अध्यापन गराउदै आएका १५ शिक्षकलाई गत मंसिरमा करारमा भर्ना गरेको थियो । निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएपछि आयोगमा उजुरी परेको थियो । आयोगले क्याम्पस प्रमुख उपाध्यायलाई स्पष्टिकरण सोधेको थियो ।

