फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा जुटे स्थानीयवासी

दार्चुला- सफा र स्वच्छ अपि हिमाल निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य भइरहेको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका र नेपाल टुरिजम बोर्ड (जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना)को साझेदारीमा अपि हिमाल गाउँपालिका–५, मकरीगाडमा फोहोर व्यवस्थापन गर्नका लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको हो।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा भिजिट अपि हिमालको नीतिअनुसार फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए । अपि हिमाल घुम्न आउने तथा पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पाहुनाको प्रवेशद्वारका रूपमा मकरीगाड रहेको छ।

Navadurga sun

अध्यक्ष बोहराले भने, “मकरीगाड बजारको फोहोरलाई व्यवस्थित गरी सफा राख्नु अति जरुरी भइसकेको छ।” अपि हिमाल गाउँपालिकाले पाँच वर्षमा १० हजार पर्यटक भित्र्याउने नीति लिएको अध्यक्ष बोहराले बताए। पर्यटक भित्र्याउने र सफा र स्वच्छ अपि बनाउने नीतिअन्तर्गत फोहोर व्यवस्थापन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका योजना अधिकृत नरहरि ठेकरेले बताए।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थानीयवासी खटिएर लागेका छन्। स्थानीय महिला तथा होटल व्यवसायीको क्षमता अभिवृद्धि गरी आगन्तुकलाई उत्कृष्ट सेवा प्रदान गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना पालिकाको छ। स्थानीय युवालाई ट्रेकिङ गाइड तालिम दिएर स्वरोजगार बनाउने प्रयास भइरहेको बताइएको छ। तालिमसँगै अपि हिमालको प्रवेशद्वारमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण गरी सफा र सुन्दर अपि हिमाल बनाउने अभियानको थालनी गरिएको उनले बताए।

मकरीगाडमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्पन्न भएपश्चात् कुहिने र नकुहिने फोहोर अलग–अलग रूपमा सङ्कलन गरी व्यवस्थापन गरिने जनाइएको छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषकलाई प्रयोग गर्न दिइने बताइएको छ। फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा अपि हिमाल गाउँपालिकाको पाँच लाख, नेपाल टुरिजम बोर्डको पाँच लाख र स्थानीयको दुई लाख श्रमदान गरी कुल १२ लाख खर्च हुने गाउँपालिकाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...