

बैतडी, २८ माघ- बैतडीमा पेट्रोल र डिजलको कालोबजारी हुने गरेको पाइएको छ । सेवाग्राहीहरुले जिल्लामा सहजै रुपमा पेट्रोलियम पदार्थ नपाइने अवस्था रहेको बताएका छन् । जिल्लामा सतबाज बजारनजिकै एउटा मात्र भण्डारी आयल स्टोर रहेको छ । त्यहाँ समयमा कहिल्यै पेट्रोल र डिजेल नपाइने गरेको सेवाग्राहीहरुले गुनासो पोखेका छन् ।



प्रशासन, प्रहरी तथा सरकारी कार्यालयका सवारीसाधनलाई मात्र उक्त आयल स्टोरले सहजै इन्धन दिने गरेको बताइएको छ । अन्य सवारीसाधनले भने नपाउने अवस्था छ । एक जिप चालक हरिश भट्टका अनुसार बजारमा तेलमा कालोबजारी समेत भइरहेको छ ।


जिल्लाका अधिकांस पसलहरूमा वोतलमा राखेर पेट्रोल र डिजेल बेच्न थालेपछि कालोबजारी बढेको अर्का एक चालकले बताए। यसरी पसलहरूमा बेच्नेले पसल र बजार अनुसार फरक—फरक मुल्य लिने गरेका छन् । यता जिल्ला प्रशासन कार्यालयले भने आयल स्टोर्सले पेट्रोल विक्री घटाएकोले समस्या भएको जनाएको छ ।





