काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।




नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।







त्यस्तै, आज राति पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बिहानपख तराई र उपत्यकामा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइन्छ।




