बजारभाउ नपाउँदा खेतमै कुहियो किसानका बन्दा

बैतडी, २९ कार्तिक– बैतडीमा व्यवसायी तरकारी खेतीमा आबद्ध किसानहरूले बजारभाउ नपाउँदा बिक्री गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांश ठाउँका किसानले उत्पादन गरेको बन्दागोभी खेतमै कुहिन थालेको छ । कार्तिक महिनाको सुरुवातमा परेको अविरल वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्‍याएको हो ।

वर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाउनाले बन्दागोभी खेतमै कुहिएको सुर्नया-६ का दामोदर अवस्थीले बताए । ‘विगतमा मकैबाली लगाउँदै आएको खेतमा आधुनिक कृषी गर्ने सोचले बन्दागोभी लगाएको हुँ । तर बजार नपाउँदा गाई बस्तुलाई खुवाउनु परेको छ । तीन महिनासम्म गरेको परिश्रम र व्यवसायमा गरेको १० हजार रकम लगानी खेर गयो । यो खेतमा मकै लगाएको एक वर्ष खान पुग्ने थियो । तर, बन्दागोभी लगाएर सही नसक्नु घाटा भयो ।’

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँमा लगाएको बन्दागोभी कुहिँदा किसान मारमा परेका छन् । बारीमा बेच्न ठिक्क परेको ५० क्विन्टल बन्दागोभी कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका वडा नं. १ मरतोलाका किसान पूणर्ानन्द भट्टले बताए ।

Bhancha ghar0

उनले भने, ‘मैले मेरो खेतमा लगाएको बन्दागोभी ५ प्रतिशत समेत बेच्न नपाउँदै बन्दा कुहिएर खेतभरी गन्हाएको छ । मेरो मात्रै नभई हाम्रो गाउँभरी करिब ५० बढी किसानको सबै बन्दा कुहिएको छ ।’ गत वर्ष ४० देखी ६० रुपैयाँ प्रति केजीमा बिक्री भएको बन्दा यसपालि १० रुपैयाँ केजीमा समेत बेच्न मुस्किल भएको उनले बताए ।

कार्तिक महिनाको सुरुवातको भएको अविरल वर्षा कारण किसानको खेतमा लगाएको बन्दा, टमाटर लगायतको तरकारी कुहिएको किसानले बताएका छन् । दशरथचन्द नगरपालिका वडा नं. १ का केशवराज भट्टले भने, ‘कुनै बेला किसानलाई चाहिएको वर्षा नहुँदा समस्या हुन्छ भने कुनै बेला अत्यधिक वर्षाले पुरै खेतीपाती सखाप गरिदिन्छ । अहिले तीन दिनको वर्षाले सबै तरकारी नष्ट गरिदियो ।’

यता कृषि ज्ञान केन्द्र बैतडीले भने किसानकै कमजोरीका कारण तरकारी कुहिएको जनाएको छ । कृषि सम्बन्धी कुनै पनि ज्ञान नलिई देखासिकीको भरमा मात्रै बन्दा उत्पादन गर्न खोज्दा उचित व्यवस्थापनको कमजोरीले कुहिएको कृषी अधिकृत गोपाल दत्त भट्टले बताए ।उनले भने, ‘ठाउँ-ठाउँमा संकलन केन्द्र रहेका छन् । कृषकहरूले संकलन केन्द्रसम्म पनि समन्वय गर्न सकेनन् । त्यसैका कारण यो अवस्था आएको हो । बैतडीमा संकलन केन्द्र नभए पनि डडेल्धुरामा संकलन केन्द्र छ ।’

बैतडीमा ३१ हजार चार सय पचासी हेक्टर जमिन तरकारी खेती गर्न योग्य भएको र अहिले पच्चिस हजार सात सय हेक्टर जमिनमा तरकारी खेती रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष जिल्ला भरि ९३ हेक्टर जमिनमा बन्दा खेती गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.