टी-ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधि दिव्य ज्योति युवा क्लब फटियालाई
कञ्चनपुर, २४ कार्तिक– कञ्चनपुरको बेलौरीमा आयोजित खुल्ला पुरुष टी-ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधि दिव्य ज्योति युवा क्लब बेलौरी १ फटियाले हात पारेको छ ।
बेलौरीको खुल्ला मञ्चमा बेलौरी नगरपालिका वडा नं.४ खेलकुद विकास समितिद्वारा आयोजित क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार खेलाइएको अन्तिम खेलमा दिव्य ज्योति युवा क्लब बेलौरी १ फटिया र जय दुर्गे युवा क्लब बेलौरी ७ पुरानो बेलौरी बिच प्रतिस्पर्धा भएको थियो। टस जितेर फिल्डिङ रोजेको दिव्य ज्योति युवा क्लबलाई जयदुर्गे युवा क्लबले ब्याटिङ गर्दै ९० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा दिव्य ज्योति युवा क्लबले १२ ओभर ५ बल खर्चेर ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

प्रतियोगितामा विजेता बनेको दिव्य ज्योति युवा क्लबले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको जय दुर्गे युवा क्लबले नगद २५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज दिव्य ज्योति युवा क्लब फटियाका पवन तिवारी भएको छ ।
त्यस्तै, बेस्ट व्याट्स म्यान दिव्य ज्योति कै किरन कुमार ठगुन्ना घोषित भए। उक्त प्रतियोगितामा सर्वाधिक ११ विकेट लिँदै जय दुर्गे युवा क्लबका केशव चन्द बेस्ट बलर घोषित भएको आयोजकले जनाएको छ ।
कार्तिक १० गतेदेखि सुरु भएको क्रिकेट प्रतियोगिताको बुधबार एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको आयोजक बेलौरी नगरपालिका वडा नं. ४ खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँले जानकारी दिए । उक्त समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि युवाहरूको महत्वपूणर् भूमिका रहेको बताए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् खेलाडीहरू उत्पादनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् । खेलकुद क्षेत्र र खेलाडीहरूलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रत्येक वर्ष खेलकुद गतिविधि गर्दै आइरहेको समेत उनले उल्लेख गरे । प्रतियोगितामा कञ्चनपुर र कैलालीका गरी जम्मा २८ वटा टिमको सहभागिता रहेको थियो ।