लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा छाडा चौपायाको समस्या अझै समाधान हुन सकेको छैन। छाडा चौपाया व्यवस्थापनको माग गर्दै स्थानीय बासिन्दाले आन्दोलनसमेत गरिसकेका छन्। प्रदेश सरकारले पनि चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरेको चर्चा भए पनि गाउँघर तथा सडकमा छाडा चौपायाको झुन्ड देखिने क्रम रोकिएको छैन।




स्थानीयको आन्दोलनदेखि प्रदेश सरकारको बजेटसम्म, नियन्त्रणका प्रयास प्रभावकारी हुन सकेनन्





छाडा चौपायाका कारण स्थानीय बासिन्दा, विशेषगरी किसानहरू बढी प्रभावित भएका छन्। खेतबारीमा लगाएको बाली नष्ट हुने समस्याका साथै रातभर चौपाया धपाउनुपर्ने बाध्यताले किसानहरू हैरान छन्। गत वर्ष पनि यो समस्या निकै विकराल बनेको थियो। रातभर चौपाया धपाउनुपर्दा किसानले राम्रोसँग सुत्न नपाएको र कतिपय बिरामीसमेत परेको स्थानीयको भनाइ छ।


गोदावरी नगरपालिका पशु चिकित्सक वीरबहादुर ठगुन्नाले छाडा चौपायाको समस्या समाधानका लागि नगरपालिकाले हृदयदेखि नै पहल गर्नुपर्ने बताएका छन्। उनका अनुसार समस्या समाधानका लागि स्थानीय सरकारले गम्भीरतापूर्वक काम गर्न आवश्यक छ।
यसैबीच, लालपुरमा प्रदेश सरकारको पहलमा छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि दुईवटा टहरा निर्माण गर्नुका साथै तारबारसमेत गरिएको छ। तर, उक्त संरचनाले मात्रै छाडा चौपायाको समस्या समाधान गर्न सकेको छैन। समस्या ठूलो भए पनि त्यसअनुसारका प्रयास पर्याप्त हुन नसकेको स्थानीयको गुनासो छ।
छाडा चौपायाका कारण सडकमा समेत जोखिम बढेको छ। सडकमा चौपायाको झुन्ड बस्ने र हिँड्ने गर्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
स्थानीय बासिन्दा अहिले पनि छाडा चौपायाको समस्या कहिले समाधान होला भन्दै प्रतीक्षामा छन्। स्थानीय सरकार र प्रदेश सरकारले बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको माग छ।
छाडा चौपायाको समस्या समाधानका लागि स्थानीय बासिन्दा, गोदावरी नगरपालिका र प्रदेश सरकारबीच समन्वय तथा सहकार्य आवश्यक देखिएको छ। किसानको बालीनाली संरक्षण, सडक सुरक्षाको प्रत्याभूति र चौपायाको उचित व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।




