काठमाडौं- हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




महाशाखाका अनुसार हाल देशको हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।







आज दिउँसो देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, बिहानपख काठमाडौं उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।




