कृष्णपुरमा भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री विद्यालय भवन हस्तान्तरण

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियास्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री दुई कोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ।

पुराना तथा जीर्ण भवनका कारण पठनपाठन र विद्यार्थीको बसाइ व्यवस्थापनमा समस्या झेल्दै आएको विद्यालयले नयाँ भवन पाएसँगै सुरक्षित र सहज सिकाइ वातावरण प्राप्त गरेको छ।

Navadurga sun

पाठशाला परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन शुक्रबार एक कार्यक्रमबीच कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

२०८२ सालमा निर्माण सुरु गरिएको भवन २०८३ साउनमा सम्पन्न भएको हो। भवन निर्माणमा ४० लाख ४३ हजार ५ सय ४१ रुपैयाँ खर्च भएको छ। कृष्णपुर नगरपालिकाको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो।

भवनसँगै बालबालिकाको सिकाइलाई सहज बनाउन आवश्यक शैक्षिक तथा कक्षाकोठा व्यवस्थापनका सामग्रीसमेत उपलब्ध गराइएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक रामेश्वर जैरुका अनुसार प्रारम्भिक बालविकास सामग्री किटका लागि ४ लाख ४ हजार ८ सय ३० रुपैयाँ खर्च गरिएको छ।

त्यसैगरी कक्षाकोठाको बसाइ व्यवस्थापनका लागि कार्पेट, गोलाकार टेबल तथा पुस्तक राख्ने दराजलगायत सामग्री खरिदमा २ लाख ३ हजार ६ सय ९३ रुपैयाँ खर्च गरिएको छ।

विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले नयाँ भवन निर्माण भएपछि विद्यार्थीको पठनपाठन र बसाइ व्यवस्थापनमा सहज हुने बताए। यसअघि विद्यालयका पुराना भवन जीर्ण अवस्थामा रहेकाले कतिपय अवस्थामा विद्यार्थीलाई बाहिरै राखेर पढाउनुपर्ने बाध्यता रहेको उनले बताए।

‘विद्यालयमा भएका केही भवन पुराना र जीर्ण अवस्थामा थिए। सुरक्षित भवन नहुँदा विद्यार्थीको बसाइ र पठनपाठनमा समस्या हुने गरेको थियो। कतिपय अवस्थामा विद्यार्थीलाई बाहिरै राखेर पढाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब नयाँ भवन बनेपछि सहज भएको छ।’

नयाँ कक्षाकोठामा स्मार्ट बोर्डसहितका शैक्षिक सामग्री प्रयोगमा ल्याइएकाले शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको प्रधानाध्यापक नेपालीले बताए।

भूकम्प प्रतिरोधी संरचनासँगै बालमैत्री र अपाङ्गमैत्री सुविधा रहेको नयाँ भवनले विद्यालयको भौतिक पूर्वाधारमा सुधार ल्याउनुका साथै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार र सिकाइ उपलब्धि दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...