काठमाडौं- दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।




मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव नामराज घिमिरेको संयोजकत्वमा सरोकारवालासहितको अध्ययन समिति गठन गरिएको मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।







सचिव तामाङका अनुसार समितिले बजारमा भइरहेको मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खला, बजारको वर्तमान अवस्था तथा सम्भावित विकृतिहरूबारे अध्ययन गर्नेछ ।
अध्ययनपछि मूल्य स्थिरता कायम गर्ने, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने तथा उपभोक्ताको हित संरक्षण गर्ने उपायसहित समितिले एक महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ ।
समितिको अध्ययन प्रतिवेदनका आधारमा बजार व्यवस्थापन तथा मूल्य नियन्त्रणका लागि आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।




