लक्ष्मी भट्ट/अत्तरिया- साहित्यकार डिल्लीराज फुलाराद्वारा लिखित निबन्ध सङ्ग्रह ‘आमा’ माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। प्रतिभा पुस्तकालयको आयोजनामा कार्तिक २१ गते पुस्तकालयकै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।




प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनिराज जोशी रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पुस्तकालयका निवर्तमान अध्यक्ष पुष्पराज जोशी तथा साहित्यकार एवं गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीको उपस्थिति रहेको थियो।





कार्यक्रममा पुस्तकालयका सहसचिव हेमन्त जोशीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष नरेन्द्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागी साहित्यकार तथा वक्ताहरूले डिल्लीराज फुलाराको निबन्ध सङ्ग्रह ‘आमा’ माथि विभिन्न दृष्टिकोणबाट समीक्षा, विश्लेषण तथा विचार प्रस्तुत गर्नुभएको थियो।


वि.सं. २०१८ सालमा जन्मिनुभएका साहित्यकार फुलाराको वि.सं. २०७० सालमा प्रकाशित ‘आमा’ पहिलो निबन्ध सङ्ग्रह हो। यस सङ्ग्रहमा २१ वटा निबन्ध समेटिएका छन्। सङ्ग्रहको पहिलो निबन्ध ‘तलकोटको सेरोफेरो’ रहेको छ भने अन्तिम निबन्ध ‘मेरो गाउँ’ रहेको छ। यसै सङ्ग्रहमा ‘आमा’ शीर्षकको निबन्ध पनि समावेश गरिएको छ, जुन सङ्ग्रहको पाँचौँ निबन्ध हो।
निबन्धमा मानव जीवनका भोगाइ, अनुभूति, संवेदना, प्रेम तथा सपनालाई सरल, सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। विशेषगरी ‘आमा’ निबन्धमा जन्मदिने आमा, जन्मभूमि र गौमातालगायतका विषयलाई समेट्दै आमाको महत्त्व र महिमाको वर्णन गरिएको छ।
आमा मायाको सागर भएकाले आमाप्रति सबैले सम्मान, श्रद्धा र आदरभाव राख्नुपर्ने सन्देश निबन्धले दिएको वक्ताहरूको भनाइ थियो।
समीक्षाका क्रममा निबन्ध सङ्ग्रहका सकारात्मक पक्षसँगै केही सुधार गर्नुपर्ने पक्षहरू पनि औँल्याइएका थिए। विशेषगरी शब्दगत त्रुटि, विषयवस्तुको पुनरावृत्ति तथा एउटै शैलीको प्रयोगलाई सङ्ग्रहका कमजोर पक्षका रूपमा चर्चा गरिएको थियो।
कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै साहित्यकार, पाठक तथा साहित्यप्रेमीबीच विचार आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।




