लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा यस सिजनमा किसानहरूलाई दोस्रो पटक निःशुल्क आलुको बीउ वितरण गरिएको छ।




किसानहरूको मागअनुसार थारु जातको आलुको बीउ करिब २० जना किसानलाई ५ देखि ६ क्विन्टलसम्म वितरण गरिएको हो। किसानहरूको माग अझै रहेकाले थप आलुको बीउ ल्याएर वितरण गरिने बताइएको छ।







विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वडाले किसानहरूलाई आलुको बीउ वितरण गर्दै आएको छ। अघिल्ला वर्षहरूमा वितरण गरिएको आलुको बीउ किसानले उत्पादनपछि फिर्ता गर्ने व्यवस्था रहेको थियो। तर यस वर्ष भने किसानले बीउ आलु फिर्ता गर्नु नपर्ने व्यवस्था गरिएको वडा अध्यक्ष हेमप्रकाश मल्लले बताएका छन्।
आफ्नो कार्यकाल आगामी वर्ष समाप्त हुने भएकाले यस वर्ष वितरण गरिएको आलुको बीउ किसानहरूले फिर्ता गर्नुपर्ने आवश्यकता नरहेको अध्यक्ष मल्लको भनाइ छ।
त्यसैगरी, नगरपालिकाले यस वर्ष पनि किसानहरूलाई गहुँको बीउ वितरण गर्दै आएको छ। तर वडा नं. ४ बाट गहुँको बीउ वितरण गर्न नसकिएको विषयमा अध्यक्ष मल्लले क्षमा माग्दै आगामी दिनमा किसानको माग र आवश्यकतालाई ध्यान दिने बताएका छन्।
कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बीउ वितरण कार्यक्रम सञ्चालन गरिएको हो।




