पहिलो जितको खोजीमा विराटनगर, लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा सुदूरपश्चिम

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दुवै टोलीका लागि महत्वपूर्ण मानिएको यस खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

विराटनगरले यसअघि खेलेका दुवै खेलमा जितको नजिक पुगेर पनि हार बेहोरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग अन्तिम बलमा पराजित भएको थियो।

Navadurga sun

चितवनविरुद्ध लक्ष्य पछ्याउँदा ब्याटिङमा कमजोर देखिएको विराटनगरले कर्णालीविरुद्ध भने १८७ रन बनाएको थियो। तर खराब फिल्डिङ, छुटेका क्याच र ओभर थ्रोका कारण टोलीले जित निकाल्न सकेन। यसपटक ती कमजोरी सुधार्दै पहिलो जित हात पार्ने योजनामा विराटनगर हुनेछ।

विराटनगरका लागि लोकेश बमले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ प्रदर्शन गरेका छन्। तर टोलीलाई जित दिलाउन अन्य ब्याटरबाट पनि उल्लेखनीय योगदान आवश्यक देखिन्छ।

यता सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरे पनि दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै पुनरागमन गरेको छ। त्यसैले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा सुदूरपश्चिम हुनेछ।

पछिल्लो लय र हेड टु हेड

विराटनगरले अघिल्लो सिजनका क्वालिफायरका दुई खेलसहित यस संस्करणका सुरुवाती दुई खेल गरी लगातार चार खेलमा हार बेहोरेको छ। सुदूरपश्चिमले भने अघिल्लो सिजनको फाइनल र यस संस्करणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि दोस्रो खेलमा काठमान्डुलाई हराउँदै जितको लय समातेको छ।

एनपीएलका अघिल्ला दुई संस्करणमा यी दुई टोली तीन पटक आमनेसामने भएका छन्। पहिलो सिजनको लिग चरणमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराएको थियो। दोस्रो सिजनको लिग चरणमा विराटनगरले ६ विकेटको जित निकाल्दै बदला लिएको थियो।

तर दोस्रो सिजनकै क्वालिफायर–१ मा सुदूरपश्चिमले ७७ रनको फराकिलो जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो। यसरी तीन भेटमध्ये सुदूरपश्चिमले दुई र विराटनगरले एक खेल जितेका छन्।

टिम कम्बिनेसन र सम्भावित प्लेइङ–११

सुदूरपश्चिमका विदेशी खेलाडी फेबियन एलेन अझै टोलीमा आइपुगेका छैनन्। यद्यपि श्रीलंकाका थरिन्दु रथ्नायके टोलीमा जोडिएका छन्। उनको बलिङ क्षमतालाई उपयोग गर्न सुदूरपश्चिमले प्लेइङ–११ मा समावेश गर्न सक्ने सम्भावना छ। उनी खेलेमा ब्रान्डन म्याकमुलेन बाहिरिन सक्ने अनुमान गरिएको छ।

विराटनगरले भने विदेशी खेलाडीमा परिवर्तन गर्ने सम्भावना कम छ। एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रन्जाने र चरिथ असलंका नै खेल्ने सम्भावना छ। नेपाली खेलाडीमध्ये इमरान शेखको स्थानमा साहिल पटेलले अवसर पाउन सक्छन्।

विराटनगरको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने, लोकेश बम, साहिल पटेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, आन्द्रे रसेल, शुभम रन्जाने, प्रतिश जिसी, बसिर अहमद र नरेन साउद।

सुदूरपश्चिमको सम्भावित प्लेइङ–११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), इशान पान्डे, विनोद भण्डारी, आरिफ शेख, सेफ जैब, ब्रान्डन म्याकमुलेन/थरिन्दु रथ्नायके, अनिल खरेल, हेमन्त धामी, अविनाश बोहरा, शेरफन रदरफोर्ड र स्कट कुग्लेइन।

यी खेलाडीमाथि रहनेछ नजर

विराटनगरका लागि लोकेश बम मुख्य खेलाडीका रूपमा रहनेछन्। उनले यसअघिका दुई खेलमा आक्रामक ब्याटिङ गर्दै आफ्नो क्षमता देखाइसकेका छन्। विशेषगरी पावरप्लेमा आक्रामक सुरुवात दिलाउन सक्ने लोकेशबाट टोलीले ठूलो अपेक्षा राखेको छ।

बलिङतर्फ कप्तान सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ। उनको स्पिन बलिङले खेलको नतिजामा प्रभाव पार्न सक्छ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी प्रमुख खेलाडी हुनेछन्। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिन सक्ने दीपेन्द्र टोलीका भरपर्दा खेलाडी हुन्।

त्यस्तै, बलिङतर्फ अनिल खरेलको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ। उनले सुरुवाती दुई खेलमै प्रभावकारी बलिङ गर्दै विकेट लिएका छन्।

वर्षाको सम्भावना रहेकाले खेलमा मौसमले पनि प्रभाव पार्न सक्नेछ। विराटनगर पहिलो जितको दबाबबाट मुक्त हुन चाहन्छ भने सुदूरपश्चिम जितको लय कायम राख्ने दाउमा छ। त्यसैले दुवै टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...