अत्तरिया- सुदूरपश्चिम प्रदेशमा पर्वतीय तथा साहसिक पर्यटनको सम्भावना पहिचान गर्ने उद्देश्यले दार्चुलाको नाम्पा हिमाल बेस क्याम्पसम्म पुग्ने पदयात्रा मार्गको पुनः परीक्षण (री–अडिट) तथा अध्ययन गरिएको छ।




नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा दार्चुलाको व्याँस गाउँपालिकाको समन्वयमा हिमालहरूको तथ्यांक संकलन र पदमार्गको अवस्थाबारे अध्ययन गरिएको हो।





असोज २६ गते अध्ययन तथा अनुगमनका लागि प्रस्थान गरेको टोली धनगढी फर्किएको नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ। टोलीमा संघका पदाधिकारी, फोटोग्राफर, भिडियोग्राफर, प्राविधिक, स्थानीय पत्रकार तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू सहभागी थिए।
अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको तथ्यांक संकलन, तिनका शिखरको विवरण (पिक प्रोफाइल) तयार पार्ने आधार निर्माण तथा नाम्पा हिमाल बेस क्याम्पसम्म पुग्ने पदमार्गको अवस्थाबारे पुनः अध्ययन गरिएको हो।


यस अध्ययनले पदयात्रा तथा पर्वतारोहणका सम्भावना, चुनौती र पर्यटन पूर्वाधार विकासका आवश्यकताहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष किशोर खड्काले बताए।
खड्काले सुदूरपश्चिमका हिमालहरूको पहिचान, अध्ययन, प्रचारप्रसार र प्रवर्द्धनका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए।
उनले भने, “सुदूरपश्चिममा पर्वतीय तथा साहसिक पर्यटनको ठूलो सम्भावना छ। यहाँका हिमालहरूको यथार्थ विवरण संकलन गर्ने, शिखरको प्रोफाइल तयार पार्ने र बेस क्याम्पसम्म पुग्ने पदमार्गको अवस्था पुनः परीक्षण गर्ने कामले पर्यटन विकासको आधार तयार गर्न सहयोग पुग्छ। हिमालको पहिचान र संरक्षणसँगै तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक छ।”
संघले आगामी दिनमा सुदूरपश्चिमका अन्य ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको विवरण तयार पार्ने तथा प्रमुख हिमालका बेस क्याम्पसम्म पुग्ने पदयात्रा मार्गको पुनः परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। व्यवस्थित तथ्यांक, पदमार्गको पहिचान र आवश्यक पूर्वाधार विकासले प्रदेशमा पदयात्रा, पर्वतारोहण तथा साहसिक पर्यटनको विस्तारमा सहयोग पुग्ने संघको विश्वास छ।
दार्चुलाको व्याँस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र पदयात्राको सम्भावनाका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यस्ता क्षेत्रको व्यवस्थित अध्ययन र प्रचारप्रसार गर्न सके स्थानीयस्तरमा पर्यटन गतिविधि विस्तार हुनुका साथै रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ।
अभियान सफल बनाउन सहयोग गर्ने व्याँस गाउँपालिका, सम्बन्धित निकाय तथा स्थानीय समुदायप्रति संघले आभार व्यक्त गरेको छ। साथै हिमालको अध्ययन, संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघको केन्द्रीय समिति, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकारका पर्यटनसम्बन्धी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा विषयविज्ञसँग आवश्यक सहकार्य गर्न संघले आग्रह गरेको छ।




