चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावले देशभर बदली, चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान
काठमाडौं- पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा समेत देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।




महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका अन्य क्षेत्रमा धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।





त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।


कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने र थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
सम्भावित वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।




