गोदावरीको सामुदायिक वनमा एक महिलाको शव फेला 

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्योदय सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ।

बुधवार सामुदायिक वनभित्र शव देखिएको भन्दै स्थानीयले अस्थायी प्रहरी पोस्ट स्याउलेमा जानकारी गराएका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरकी देखिने महिलाको शव फेला परेको हो। शवको कम्मरभन्दा मुनिको भाग, हातमा लगाउने चुरा तथा एउटा झोलासमेत घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ। शवलाई जङ्गली जनावरले आंशिक रूपमा खाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको झोलाभित्र महिलाले प्रयोग गर्ने सामग्री तथा ‘प्रिंका जैसवाल’ नाम उल्लेख भएको एउटा कागजसमेत फेला परेको छ। यद्यपि, उक्त कागजका आधारमा मृतकको पहिचान पुष्टि भइसकेको छैन।

शवको जाँच प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ। घटनाको प्रकृति र मृतकको पहिचानबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
Loading...