गाउँपालिका र शिक्षकबीच सहमति, विद्यालय नियमित

डोटी, १४ कार्तिक– डोटीको आदर्श गाउँपालिका र शिक्षकबीच सहमति भएको छ । वृद्धि भएको कर्मचारी र बाल विकास सहजकर्ताको सरकारको निणर्य पालना नगरेको भन्दै शिक्षक तथा कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।

शिक्षकको चेतावनीपछि आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा गाउँपालिकाले वृद्धि भएको सेवा सुविधा दिने सहमति भएपछि आन्दोलन फिर्ता लिएको ट्रेड युनियनका अध्यक्ष तथा महादेवेश्वरी आधारभूत विद्यालयका शिक्षक काशीराम पाठकले बताए । सरकारले गरेको निणर्य अनुसार तलब वृद्धि नभएपछि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थियौं तर सहमति जुटेपछि हाम्रो निणर्य फिर्ता लिएको शिक्षक पाठकले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गाउँपालिकाले विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको वृद्धि भएको तलब साउनदेखि दिने सहमति भएको गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायाले बताए ।

सरकारले तलब वृद्धि गर्ने निणर्य गाउँपालिकाको बजेट तयारी भन्दा ढिला भएकोले समस्या भएको बताए । ‘सरकारको निणर्य हामीले पालना नगर्ने भन्ने हुँदैन । तर असारमा हाम्रो बजेट तयार भयो सरकारले साउनमा निणर्य सुनाउँदा समस्या भएको हो’ उनले भने, ‘अब स्थानीय स्रोतबाट उठ्नुपर्ने रकम उठेपछि खातामा हाल्ने सहमति भएको छ ।’

गाउँपालिका र आन्दोलनरत शिक्षकको सहमतिपछि विद्यालय नियमित पठनपाठन भइरहेको छ । गाउँपालिकाभित्र माध्यामिक र आधारभूत गरी ३४ वटा विद्यालय रहेका छन् ।

Loading...