स्वीकृति नलिई स्वास्थ्य सेवा सञ्चालन गर्ने धनगढीका दुई संस्थालाई सेवा बन्द गर्न निर्देशन

धनगढी- आवश्यक सरकारी स्वीकृति नलिई स्वास्थ्य सेवा सञ्चालन गरिरहेका धनगढीका दुई निजी स्वास्थ्य संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी तथा औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती संस्थाले सम्बन्धित निकायबाट आवश्यक स्वीकृति नलिई सेवा सञ्चालन गरिरहेको पाइएको हो।

Navadurga sun

अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित श्रद्धि डाइग्नोस्टिक सेन्टर र सहिद गेटस्थित सन्तति आईभीएफ सेन्टर ले सेवा सञ्चालनका लागि आवश्यक अनुमति नलिएको भेटिएको टोलीले जनाएको छ।

आवश्यक स्वीकृतिबिनै स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएपछि दुवै संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको हो।

अनुगमन टोलीले धनगढीमा सञ्चालनमा रहेका अन्य निजी स्वास्थ्य संस्थाको समेत निरीक्षण गरेको जनाएको छ। टोलीले ती संस्थाहरूले सेवा सञ्चालनका लागि आवश्यक स्वीकृति लिएका छन् वा छैनन्, निर्धारित मापदण्ड पालना गरेका छन् वा छैनन् तथा स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया पूरा गरेका छन् वा छैनन् भन्ने विषयमा समेत जाँच गरेको जनाएको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा आवश्यक अनुमति र निर्धारित मापदण्डबिना संस्था सञ्चालन हुन नदिन अनुगमनलाई थप प्रभावकारी बनाइने सम्बन्धित निकायले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...