अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले गोदावरी नगरपालिका–४ मा रहेको बुढीतोला आधारभूत स्वास्थ्य केन्द्रलाई कम्युनिटी ट्रेनिङ साइटका रूपमा प्रयोग गर्ने भएको छ।
गोदावरी नगरपालिका मातहत रहेको उक्त स्वास्थ्य केन्द्रलाई विश्वविद्यालयले एमबीबीएसलगायत सम्बन्धित शैक्षिक कार्यक्रमका विद्यार्थीको कम्युनिटी ट्रेनिङ साइट तथा फिल्ड पोस्टिङका रूपमा प्रयोग गर्ने भएको हो।

सो सम्बन्धमा शुक्रबार गोदावरी नगरपालिका र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच सम्झौता भएको छ। सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. भीमबहादुर चन्द र नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्टले हस्ताक्षर गरेका छन्।


सम्झौताअनुसार विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने प्रस्तावित चिकित्सा स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई समुदायस्तरमा स्वास्थ्यसम्बन्धी व्यावहारिक अनुभव प्रदान गर्न गोदावरी नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।
विश्वविद्यालयले आफ्नो पाठ्यक्रमअनुसार समुदायमा आधारित प्रशिक्षणका लागि स्वास्थ्य संस्था तथा आवश्यक अन्य संरचनाको प्रयोग गर्न सक्ने व्यवस्था सम्झौतामा गरिएको छ।
सम्झौताअनुसार नगरपालिकाअन्तर्गतको बुढीतोला आधारभूत स्वास्थ्य केन्द्रलाई विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रमका लागि आवश्यकताअनुसार समुदायमा आधारित फिल्ड पोस्टिङ, प्रशिक्षण, अध्ययन, अनुसन्धान तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्ने कम्युनिटी ट्रेनिङ साइटका रूपमा प्रयोग गरिनेछ।
यसबाट चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले समुदायमै पुगेर स्वास्थ्य सेवा, जनस्वास्थ्य तथा स्थानीय स्वास्थ्य अवस्थाबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
