अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भइरहेको जनशक्ति पदपूर्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन माग गरेको छ ।
रास्वपा सुदूरपश्चिम प्रदेश समितिले बुधबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै पदपूर्ति प्रक्रिया प्रचलित कानुन, नियम, कार्यविधि तथा निर्धारित मापदण्डअनुसार योग्यता र क्षमताका आधारमा सञ्चालन गर्न माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा विश्वविद्यालयको संस्थागत स्वायत्तता र कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्ने प्रतिबद्धता जनाइएको छ । साथै पार्टीका प्रदेश, जिल्ला, पालिका तथा अन्य तहका पदाधिकारी, सदस्य, सांसद वा पार्टीसँग सम्बन्धित कुनै पनि व्यक्तिले आफ्नो पद, पहुँच वा पार्टीको नाम प्रयोग गरी विश्वविद्यालयको पदपूर्ति प्रक्रियामा दबाब, प्रभाव, व्यक्तिगत सिफारिस वा हस्तक्षेप नगर्न स्पष्ट निर्देशन गरिएको रास्वपाले जनाएको छ ।


रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोश जोशीका अनुसार पार्टीको नाम वा राजनीतिक पहुँचको दुरुपयोग गरी विश्वविद्यालयको स्वायत्तता तथा पदपूर्ति प्रक्रियामा हस्तक्षेप गर्ने व्यक्तिमाथि पार्टीको विधान तथा आन्तरिक व्यवस्थाअनुसार कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
उनले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा चिकित्सकीय विकासका लागि आवश्यक सहयोग र सहजीकरण गर्न पार्टी सकारात्मक रहेको बताए । तर त्यस्तो सहयोगलाई विश्वविद्यालयका निर्णय वा पदपूर्ति प्रक्रियामा राजनीतिक प्रभावका रूपमा प्रयोग नगर्ने पनि उनले स्पष्ट पारे ।
रास्वपाले विश्वविद्यालयजस्तो महत्वपूर्ण शैक्षिक तथा स्वास्थ्य संस्थामा हुने जनशक्ति छनोट प्रक्रिया योग्य, सक्षम र प्रतिस्पर्धी उम्मेदवारलाई समान अवसर प्रदान गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
रास्वपा सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले २०८३ असोज ७ गते उपकुलपतिसमक्ष उक्त ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।
