जङ्गली हात्ती निस्किए तत्काल खबर गर्न शुक्लाफाँटा निकुञ्जको आग्रह

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती नियन्त्रणका लागि समयमै सूचना दिएर सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

निकुञ्ज कार्यालयले सोमबार सूचना जारी गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा जङ्गली हात्तीको बथान निस्किएको देखिएमा तत्काल नजिकको सेक्टर, रेन्जपोस्ट वा पोस्टमा खबर गर्न आग्रह गरेको हो।

Navadurga sun

पछिल्लो समय कञ्चनपुरका विभिन्न स्थानमा जङ्गली हात्तीको बथानले स्थानीयका बालीनाली नष्ट गर्नुका साथै घरसमेत भत्काउने गरेको छ। हात्ती नियन्त्रणका लागि निकुञ्ज कार्यालयले आवश्यक कार्य गरिरहेको जनाएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतिबालीमा समय–समयमा निस्कने जङ्गली हात्ती नियन्त्रणको कार्य भइरहेको बताए।

उनका अनुसार कुनै क्षेत्रमा हात्ती बाहिर निस्किएको अवस्थामा नजिकको सेक्टर, रेन्जर पोस्ट वा पोस्टमा तत्काल सम्पर्क गरी नियन्त्रण कार्यमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरिएको छ।

निकुञ्ज कार्यालयले हात्ती आएको अवस्थामा मझगाउँ हेडक्वार्टर, अर्जुनी सेक्टर, हिरापुर रेन्जपोस्ट, बेलडाँडी रेन्जपोस्ट, ढक्का रेन्जपोस्ट, पिपरिया रेन्जपोस्ट, दोधारा पोस्ट, पलिया पोस्ट, मालुमेला पोस्ट, बडनिखेडा पोस्ट, तारापुर पोस्ट र हात्तीथला पोस्टमा समयमै खबर गर्न अनुरोध गरेको छ।

निकुञ्जले जङ्गली हात्ती देखिएमा जोखिम मोलेर नजिक नजान र हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन स्थानीयवासीलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...