लक्ष्मी भट्ट/अत्तरिया- हिन्दू स्वयंसेवक सङ्घ नेपाल, गोदावरी नगरको आयोजनामा गुरु दक्षिणा समर्पण उत्सव अत्तरियास्थित प्रतिभा पुस्तकालयमा आज भव्य रूपमा सम्पन्न भएको छ। ‘धर्मका लागि बाँचौँ, समाजका लागि बाँचौँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
हिन्दू स्वयंसेवक सङ्घ नेपाल धनगढी विभागका अध्यक्ष प्रेम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक तथा धार्मिक व्यक्तित्व यज्ञराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सामाजिक तथा धार्मिक व्यक्तित्व प्रकाश सिंह बुढा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले धर्मले मानिसलाई नैतिकवान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सनातन हिन्दू धर्मप्रति आस्था राख्दै यसको संरक्षण, संवर्द्धन र अवलम्बन गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो। गुरु दक्षिणा समर्पण कार्यक्रमले धार्मिक तथा सामाजिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यस्तै, प्रमुख वक्ता प्रकाश सिंह बुढाले हिन्दू धर्म प्राचीन कालदेखि चलिआएको महान् धर्म भएको बताउनुभयो। वेदलगायतका धार्मिक ग्रन्थले मानिसलाई जीवन जिउने मार्गदर्शन प्रदान गर्ने उल्लेख गर्दै उहाँले सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ–नयाँ धर्मतर्फ आकर्षित हुनुभन्दा आफ्नो मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै यसको सकारात्मक पक्षबारे समाजमा चेतना फैलाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा हिन्दू धर्म, संस्कार, संस्कृति तथा सामाजिक सेवाका विषयमा समेत चर्चा गरिएको थियो।
