कैलाली- कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण सम्पन्न १५ शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुधबार आयोजित एक समारोहबीच गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले अस्पतालको उद्घाटन गर्दै स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन्।
सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको अस्पताल गत असारमै गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने सरकारी नीतिअनुसार निर्माण गरिएको अस्पताल सञ्चालनमा आएपछि कैलारी गाउँपालिकाका नागरिकले आफ्नै पालिकाबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन्।

अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकाको दक्षिणी क्षेत्रका बासिन्दाले सामान्य उपचारदेखि आवश्यक स्वास्थ्य सेवाका लागि धनगढी वा सीमावर्ती भारतसम्म जानुपर्ने बाध्यता धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ। अब प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवा, आकस्मिक उपचार, सुरक्षित प्रसूति लगायतका सेवा स्थानीय स्तरमै उपलब्ध हुने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले अस्पतालले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापनमा गाउँपालिका प्रतिबद्ध रहेको बताए।
