धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आफ्ना चिकित्सकहरूलाई कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। अस्पताल प्रशासनले सेवाप्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको हो।
मंगलबार जारी गरिएको सूचनाअनुसार केही चिकित्सकहरू नियमित ड्युटी समयमै बाहिरी निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएपछि प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो। अस्पतालले सबै चिकित्सकलाई तोकिएको कार्यसमयभर अस्पतालमै उपस्थित भई सेवाग्राहीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी सूचनामा कार्यालय समयको उल्लंघन गरी निजी संस्थामा संलग्न भएको पुष्टि भए सम्बन्धित चिकित्सकमाथि प्रचलित कानुन तथा लागू सेवा–शर्तअनुसार आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
