अत्तरिया- कैलालीको अत्तरियास्थित न्यु सिर्जनशील युवा क्लबले आफ्ना अध्यक्ष नरबहादुर राईको सफल उपचार, आर्थिक सहयोग तथा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र उपचारमा संलग्न चिकित्सक टोलीलाई विशेष सम्मान गरेको छ।
मङ्गलबार धनगढीमा आयोजित पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्मानपत्र प्रदान गर्दै क्लबले मानवीय सेवाप्रति कृतज्ञता व्यक्त गरेको हो।

उपचारपछि भावुक बनेका क्लब अध्यक्ष नरबहादुर राईले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको बेला निसर्ग हस्पिटलको चिकित्सक टोलीले दिनरात खटेर जीवन बचाएको बताए। उनले अस्पतालले उपचारसँगै देखाएको मानवीय व्यवहार र आर्थिक सहयोग जीवनभर सम्झिरहने उल्लेख गर्दै निसर्ग हस्पिटल आफ्नो लागि “दुई पटक पुनर्जन्म दिने अस्पताल” बनेको प्रतिक्रिया दिए।
राईलाई १९ दिनअघि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरसम्म राख्नुपर्ने अवस्था आए पनि चिकित्सक टोलीको निरन्तर प्रयास, आधुनिक उपचार पद्धति र सघन निगरानीका कारण उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको थियो। सफल उपचारपछि उनलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। उपचारका क्रममा अस्पताल, चिकित्सक टोली, क्लबका सदस्य तथा विभिन्न शुभेच्छुकले आर्थिक सहयोगसमेत गरेका थिए।
सम्मान कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन क्लबका सदस्य छविन्द्रनाथ योगीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द भट्टले व्यक्त गरेका थिए।
यस अवसरमा अस्पतालको मानवीय सेवाको अर्को उदाहरणका रूपमा डडेल्धुराकी बन्दना लिम्बुको प्रसंग पनि स्मरण गरिएको थियो। करिब दुई वर्ष लामो उपचारपछि स्वास्थ्यमा सुधार आएर घर फर्किएकी लिम्बुको उपचारमा बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ अस्पतालले पूर्ण रूपमा मिनाहा गर्नुका साथै दैनिक आवतजावतका लागि निःशुल्क ह्विलचेयरसमेत उपलब्ध गराएको थियो। यस घटनाले निसर्ग हस्पिटलको मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।
