धनगढी- धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु भएको आठ दिनपछि सोमबार अन्त्येष्टि गरिएको छ। दुवै पक्षबीच सहमति भएपछि सेती प्रादेशिक अस्पतालमा राखिएको शव परिवारले बुझेर दाहसंस्कार गरेको हो।
पूजाको विवाह करिब छ महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१ हातीथलाका ३१ वर्षीय भरत धामीसँग भएको थियो। साउन ११ गते उनी आफ्नै घरमा सिलिङ पङ्खामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि माइती पक्षले हत्या भएको आरोप लगाउँदै श्रीमान्सहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएको छ। जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। न्यायको माग गर्दै माइती पक्षले विभिन्न सरकारी कार्यालयअगाडि लगातार धर्ना तथा प्रदर्शनसमेत गर्दै आएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पोस्टमार्टम रिपोर्ट अझै प्राप्त नभएको र रिपोर्ट आएपछि अनुसन्धानलाई थप अघि बढाइनेछ। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ।
