पूजा धानुक मृत्यु प्रकरण: निष्पक्ष अनुसन्धानको माग गर्दै शव आठ दिनदेखि अस्पतालमा

धनगढी- धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी २३ वर्षीया पूजा धानुकको शव आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। माइती पक्षले उनको हत्या भएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।

माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले श्रीमान भरत धामीसहित पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीमान, बाजे, बज्यै, नन्द र फुपु रहेका छन्। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

श्रीमान पक्षले भने पूजाले आत्महत्या गरेको दाबी गरेको छ। प्रहरीका अनुसार गत ११ साउन साँझ घरभित्र पंखामा साडीको पासो लगाएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। शवको पोस्टमार्टम नेपालगञ्जमा गरिएको छ भने रिपोर्ट आउन बाँकी छ।

यस घटनाप्रति आक्रोश व्यक्त गर्दै माइती पक्षले सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेका छन्। मृतककी आमा पार्वती धानुकले छोरीको हत्या भएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गरेकी छन्।

हाल घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...