फरार दुर्घटना अभियुक्त पक्राउ गर्न मालाखेती प्रहरीको सफलता, डीएसपी हिरा सिंह महराको नेतृत्वको प्रशंसा
अत्तरिया- कैलालीको मालाखेती क्षेत्रमा सवारी दुर्घटना गराएर फरार भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई छोटो समयमै पक्राउ गर्न इलाका प्रहरी कार्यालय मालाखेतीले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराको नेतृत्वमा खटिएको विशेष प्रहरी टोलीले गहन अनुसन्धान, सूक्ष्म सुराकी तथा वैज्ञानिक प्रमाणका आधारमा दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार २०८३ साल श्रावण १२ गते बिहान करिब ११:३५ बजे गौरीगंगा नगरपालिका–४ राजिपुरमा से.७ प ४७९० नम्बरको मोटरसाइकलले पैदलयात्री बालक विशाल बोहरालाई ठक्कर दिएर चालक र पछाडि सवार फरार भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका विशाल बोहराको धनगढीस्थित निसर्ग अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

घटनालगत्तै डीएसपी महराको कमाण्डमा ११ सदस्यीय विशेष प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिहरूले आफ्नो संलग्नता अस्वीकार गर्ने प्रयास गरे पनि प्रहरी टोलीले घटनास्थल, अभियुक्तको घरमा गरिएको सूक्ष्म खानतलासी तथा घटनाका बेला प्रयोग भएको मोटरसाइकल, जुत्ता र कपडालगायतका प्रमाण संकलन गरी उनीहरूको संलग्नता पुष्टि गरेको प्रहरीले जनाएको छ।
यस क्रममा गौरीगंगा नगरपालिका–८ निवासी प्रेम चौधरीका अन्दाजी २६ वर्षीय छोरा सागर चौधरी (मोटरसाइकल चालक) र सोही स्थान निवासी गुटराम डगौरा थारुका अन्दाजी २६ वर्षीय छोरा राजेश डगौरा थारु (पछाडि सवार) लाई पक्राउ गरिएको छ। उनीहरूलाई सोही दिन अपराह्न करिब ४:२० बजे इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटना भएको केही घण्टामै फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै स्थानीयवासीले डीएसपी हिरा सिंह महराको नेतृत्व, अनुसन्धान क्षमता तथा प्रहरी परिचालनको खुलेर प्रशंसा गरेका छन्। पछिल्ला दिनहरूमा मालाखेती प्रहरीले अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, शान्ति सुरक्षा तथा मानव उद्धारका क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएको स्थानीयको भनाइ छ। यसले प्रहरीप्रतिको जनविश्वास अझ बलियो बन्दै गएको विश्वास व्यक्त गरिएको छ।
