धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु प्रकरणमा माइती पक्षले श्रीमान भरत धामीसहित पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन्।
माइती पक्षले घटनालाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ। प्रहरीका अनुसार सोमबार साँझ करिब ४:३० बजे पूजा आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। श्रीमान भरत धामीले उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि ससुराली पक्षले पूजा धानुकले आत्महत्या गरेको दाबी गर्दै आएको छ। तर माइती पक्षले उक्त दाबी अस्वीकार गर्दै हत्या भएको आरोप लगाएको छ। सोही आधारमा प्रहरीले अनुसन्धानका लागि श्रीमान भरत धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।
करिब नौ महिनाअघि मात्र विवाह भएकी पूजा धानुकको शवको पोस्टमार्टम समाचार तयार पार्दासम्म हुन सकेको छैन। प्रहरीले पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने जनाएको छ। साथै, अनुसन्धान जारी रहेको र प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
