धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु शैक्षिक सत्रदेखि एमबिबिएसको पढाइ सुरु नभए आफू अनशन बस्ने घोषणा गरेका छन्।
उनले सोमबार डोटीको बुडरमा आयोजित कार्यक्रममा विश्वविद्यालय सञ्चालनमा ढिलाइ भएको भन्दै आवश्यक परे आन्दोलनको नेतृत्व पनि आफूले गर्ने बताएका हुन्।

नगर प्रमुख हमालले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको एक पुस्ताअघिदेखिको सपना र माग भएको उल्लेख गर्दै पदाधिकारी को बन्छ भन्नेभन्दा पनि विश्वविद्यालयमा तत्काल पठनपाठन र अस्पताल सञ्चालन हुनु महत्त्वपूर्ण रहेको बताए।
उनले भने, “यो शैक्षिक सत्रदेखि एमबिबिएसको पढाइ सुरु हुनुपर्छ भन्ने हाम्रो अपेक्षा हो। यदि यसै सत्रबाट पढाइ सुरु भएन भने म पनि अनशन बस्छु। आवश्यक परे आन्दोलनको नेतृत्व पनि मैले नै गर्छु।”
