शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध नगर्न सुदूरपश्चिमवासीलाई एकजुट हुन कुँवरको आह्वान
अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ सङ्घर्ष समिति कैलालीका सचिव धर्मसिंह कुँवरले विश्वविद्यालय सञ्चालन प्रक्रिया अवरुद्ध हुन नदिन सम्पूर्ण सुदूरपश्चिमवासीलाई एकजुट हुन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लामो संघर्षपछि स्थापना भएको विश्वविद्यालय सञ्चालनमा विभिन्न बहानामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए। विश्वविद्यालय स्थापनामा योगदान दिने नागरिक, आन्दोलनकारी तथा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै उनले साझा संघर्षकै कारण यो उपलब्धि सम्भव भएको बताए।

डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्रमा रहेको योगदानको सम्मान गर्दै कुँवरले विश्वविद्यालयसम्बन्धी साउन ७ गते सार्वजनिक अभिव्यक्तिप्रति भने संघर्ष समितिको गम्भीर असहमति रहेको बताए। साथै, विश्वविद्यालय ऐन, २०८२ अनुसार नियुक्त पदाधिकारीलाई सरकारले किन बर्खास्त गर्यो भन्ने प्रश्न उठाउँदै शिक्षण अस्पताल तथा एमबिबिएस कार्यक्रम सञ्चालनको सुनिश्चितताबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन्।
उनले अन्त्यमा विश्वविद्यालय सञ्चालनका लागि फेरि एकपटक एकजुट भएर सुदूरपश्चिमको जनताको सपनालाई साकार पार्न सरकारमाथि आवश्यक दबाब सिर्जना गर्न सम्पूर्ण सुदूरपश्चिमवासीलाई आग्रह गरेका छन्।
