धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पार्टी नेतृत्वसँग परामर्श गर्न बिहीबार काठमाडौं प्रस्थान गरेका छन्। नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न उनी काठमाडौं पुगेका हुन्।
स्रोतका अनुसार मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका शीर्ष नेतासँग प्रदेशको पछिल्लो राजनीतिक परिस्थिति, सरकारको आगामी रणनीति तथा विश्वासको मत लिने वा राजीनामा दिने विकल्पबारे परामर्श गर्नेछन्। बजेट विवादपछि शाहले एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सरकार अल्पमतमा परेको हो।

संवैधानिक व्यवस्थाअनुसार समर्थन गुमाएको सरकारले तोकिएको समयभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। प्रदेश सभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक रहे पनि कांग्रेससँग हाल १८ सांसद मात्र छन्।
यसैबीच एमाले र नेकपाबीच सम्भावित सहकार्यबारे पनि छलफल चलिरहेका बेला मुख्यमन्त्री शाहको काठमाडौं भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। मुख्यमन्त्री निकट स्रोतका अनुसार साउन महिनाको अन्तिमसम्म विश्वासको मत लिने वा पदबाट राजीनामा दिने भन्ने विषयमा अन्तिम निर्णय गरिनेछ।
