अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी, रजिस्ट्रार डा. भीम चन्द तथा सिनेट सदस्य डा. डम्मर बहादुर पालसँग भेटघाट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नगरपालिकाको कार्यालयमा भएको भेटका क्रममा विश्वविद्यालयको समग्र विकास, गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार तथा एमबीबीएससहितका चिकित्सा शिक्षाका कार्यक्रम यथाशीघ्र सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको थियो।

नगर प्रमुख भट्टले विश्वविद्यालय सुदूरपश्चिम मात्र नभई देशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको भविष्यसँग जोडिएको महत्वपूर्ण संस्था भएकाले यसको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आएपछि दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, रोजगारी सिर्जना, स्वास्थ्य अनुसन्धानको विकास तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे।
साथै, गोदावरी नगरपालिकाले विश्वविद्यालयको पूर्वाधार विकास, आवश्यक समन्वय तथा सहकार्यमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले यस भेटघाटले विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सुदूरपश्चिमलाई स्वास्थ्य शिक्षाको प्रमुख केन्द्र बनाउने साझा प्रतिबद्धता थप बलियो बनाएको बताएका छन्।
