धनगढी- धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा संयुक्त टोलीले खानतलासी गर्दा उक्त सामग्री फेला परेको हो।

प्रहरी, शस्त्र प्रहरी, नगर प्रहरी, धनगढी उपमहानगरपालिका तथा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ ५२८ बोरा र ४४ कार्टुनमा रहेका प्लास्टिकका झोला, कप, कचौरा, थाल, चम्चा र गिलासलगायतका प्रतिबन्धित सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकालाई बुझाइएको छ।
