लक्ष्मी भट्ट/अत्तरिया- नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिम प्रदेशभर १ हजार ७७३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २०५ जनाको मृत्यु भएको छ भने २ हजार ५४३ जना घाइते भएका छन् । यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा बढी हो ।
आर्थिक वर्ष २०८१/०८२ मा १ हजार २०३ दुर्घटनामा १९२ जनाको मृत्यु तथा २ हजार ४ जना घाइते भएका थिए । त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ३०९ दुर्घटनामा १७२ जनाको मृत्यु र ५३६ जना घाइते भएका थिए । पछिल्लो आर्थिक वर्षमा सवारी साधनमाथिको कारबाही र राजस्व संकलन दुवैमा कमी आएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा ३९ हजार २१२ सवारी साधन कारबाहीमा पर्दा ३ करोड १८ लाख ८५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ६१ हजार ५७६ सवारी साधन कारबाहीबाट ४ करोड ४१ लाख ५९ हजार रुपैयाँ तथा आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ४७९ सवारी साधन कारबाहीबाट ४ करोड ८९ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) परीक्षणलाई प्राथमिकता दिँदै आए पनि पछिल्लो वर्ष मापसे कारबाहीमा पनि कमी आएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ९१८ मापसे कारबाहीबाट ३९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा मापसे कारबाही बढेर ४ हजार ९३१ पुगे पनि राजस्व ३६ लाख ५६ हजार ५०० रुपैयाँमा सीमित रह्यो ।
आर्थिक वर्ष २०८२/०८३ मा भने मापसे कारबाही घटेर ३ हजार ६४१ मा झरेको छ र यसबाट १९ लाख ७९ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।
यसैबीच, ट्राफिक सचेतना अभिवृद्धिका लागि आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिम प्रदेशभर ६ हजार २०६ वटा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
