कैलाली- रक्त सञ्चार केन्द्र धनगढीमा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जिल्लाका विभिन्न स्थानमा दोश्रो पटक घुम्ती रक्तदान शिविर सञ्चालन गरेको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टका अनुसार आज आयोजित घुम्ती रक्तदान शिविरमार्फत जिल्लाका विभिन्न स्थानबाट रगत संकलन गरिएको हो।

कैलाली जिल्लाभित्र रहेका फुलबारी, कैलारी, भजनी, लालबोझि, खैलाड, धनसिंहपुर र टिकापुर उपशाखाहरूको समन्वयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको शाखा विकास अधिकृत नरेन्द्र भट्टले बताए ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै आवश्यक पर्दा जीवन बचाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।
